२ माघ, काठमाडौं । चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौं लगिएको छ । काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएका उनीहरुलाई राति नै काठमाडौं लगिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेशका ३३ वर्षीय आशुतोफ दत्रेय, ३० वर्षीय अमोल खरमते, ४० वर्षीय असरफ युनुस शेख र ३० वर्षीय अम्बास श्रीसत छन् । उद्धार गरिएका चिनियाँ नागरिकलाई भने जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाइसकिएको छ । उद्दार गरिएको व्यक्तिलाई जिल्ला प्रहरी परिसरबाट थप सोधपुछ हुन्छ । पक्राउ परेकाहरुको सन्दर्भमा प्रारम्भिक जाँच र डकुमेन्टसन गरेर बुझाउने एसपी भट्टराईले बताए ।
मंगलबार ठमेलबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । हराएको भनेको स्थानको सीसी टीभी हेर्दा भारतीय नागरिकहरुले उनलाई गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि नाकाहरुमा जाँच थालिएको थियो ।
प्रारम्भिक जाँचका क्रममा लेनदेनको विवादमा अपहरणमा गरेर भारततर्फ लैजान खोजिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । जाँचका क्रममा थप तथ्यहरु खुले चिनियाँ नागरिकमाथि समेत अनुसन्धान गर्नु पर्ने हुनसक्ने अधिकृतहरुले जनाएका छन् ।