Logo

६ माघ, सर्लाही । भारतीय सस्तो गोलभेँडाको अत्यधिक आयातले सर्लाहीका किसानलाई ठुलो आर्थिक संकटमा पारेको छ । स्थानीय किसानले उत्पादन गरेको गोलभेँडाले बजारमा उचित मूल्य पाउन सकेका छैनन् ।

सर्लाहीमा गोलभेँडा प्रतिकेजी २० देखि २२ रूपैयाँमा बिक्री भइरहेको छ, तर भारतीय गोलभेँडाको सस्तो मूल्यले प्रतिस्पर्धा गर्न कठिन भएको किसान र व्यापारीहरूले बताएका छन् । किसानले महँगो मल, बिउ, र औषधि प्रयोग गरेर उत्पादन गरे पनि, भारतीय सहुलियत गोलभेँडाले उनीहरूको उत्पादनलाई बजारबाट विस्थापित गरिरहेको छ ।

व्यापारीहरूले सर्लाहीबाट दैनिक २ हजार क्रेट गोलभेँडा काठमाडौँ पठाउँदै आए पनि भारतीय गोलभेँडाको अत्यधिक आपूर्तिका कारण बिक्रीमा समस्या भइरहेको छ ।

चिस्यान केन्द्रको अभावले खेतमा पाकेका गोलभेँडा बिनासमय नष्ट हुने जोखिम बढेको छ । प्रति क्रेट २ हजार रूपैयाँमा बिक्री भएको गोलभेँडा अहिले ५सय रूपैयाँमा झरेपछि किसानहरूको लागतसमेत उठाउन कठिन भएको छ ।

व्यावसायिक गोलभेँडा खेती हुने सर्लाहीको उत्तरी भेगमा पर्ने लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका किसानले फलाएको गोलभेँडा लालबन्दी, नवलपुर र तीनघरे बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् ।


सम्बन्धित समाचार