
३ चैत,काठमाडौं। नेकपा एमाले सांसद रघुजी पन्त संविधानले नचिन्ने राजतन्त्रलाई नचिन्ने भएकाले संसदमा यस बिषयमा बहस गर्न उचित नभएको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको बिशेष बोल्दै सांसद पन्तले मुलुकमा व्यवस्था परिवर्तन भएसँगै गणतन्त्र स्थापना भइसकेको भन्दै संविधानले नचिन्ने राजतन्त्रका बारेमा संसदमा बहस गर्न उचित नभएको बताएका हुन्।
बिभिन्न इतिहासका घटना प्रस्तुत गर्दै उनले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको तर्क गरे। राजतन्त्रको कालखण्डका दृष्टान्त प्रस्तुत गरेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका थिए। आफ्नो अभिव्यक्तिप्रति शाहीले आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन सुझाव दिए।
त्यस्तै सांसद पन्तले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन खोजिएको बिषयमा भएका चर्चाको मन्त्रीहरुले सदनमा जवाफ दिनुपर्ने बताए। जनताको भावनालाई नबुझ्ने र प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीहरुलाइ सरकारमा राखिरहन आवश्यक नरहेको उनले बताए। उनले अहिलेको अवस्थामा मन्त्रीहरु फेर्ने अवस्था आएको जिकिर गरे।