८ चैत, पर्सागढी । नेकपा एमाले पर्सागढी नगर कमिटीको दोस्रो नगर अधिवेशन आज सम्पन्न भएको छ। कार्यक्रममा गणतन्त्रको रक्षा र पार्टीको संगठन विस्तारमा जोड दिइएको थियो।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य माननीय प्रभु हजराले देशमा गणतन्त्रलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनले एमालेको लोकप्रियता बढेको कारणले प्रत्येक वडामा दुई सय सदस्यता बढाउन निर्देशन दिए।
पर्सागढी नगर कमिटीका अध्यक्ष दुर्गा प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय सदस्य तथा माननीय निर्मला देवकोटा, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डा. विश्वम्भर शर्मा, पर्सागढीका नगर प्रमुख गोकर्ण पाठक, जिल्ला सदस्य उदब बहादुर उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उद्घाटन कार्यक्रममा पर्सागढी नगर कमिटीका उपाध्यक्ष रामजनम यादवले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण टीकाराम पौडेलले गरेका थिए।
यस अधिवेशनले पर्सागढीमा नेकपा एमालेको संगठनलाई थप मजबुत बनाउने र गणतन्त्रको रक्षामा सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ।

















