Logo

तस्विर : बिशाल पटेल

१२ माघ, वीरगञ्ज । नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले खानेपानी महशुल बापतको झण्डै १२ करोड बक्यौता असूल गर्नुपर्ने ५४२ जना ग्राहकको नाउँ सार्वजनिक गरेको छ ।

खानेपानी संस्थानले सार्वजनिक गरेको महशुल नतिर्ने ग्राहकको लिष्टमा केही प्रतिष्ठित व्यक्तिहरुको नाम समेत रहेको छ । मधेस प्रदेशका पूर्व मुख्यमन्त्री एंव प्रदेशसभा सदस्य लालबाबु राउतका बुवा दशरत राउतसँग करिव डेढ लाख भन्दा बढी रकम असूल गर्नुपर्ने देखाइएको छ ।

त्यस मध्ये केही मृत्यु भइसकेको व्यक्तिको नाउँमा समेत बक्यौता देखिन्छ । प्रजातन्त्रका सेनानी स्वर्गीय मथुरामान सिंहको नाउँमा व्याज वाहेक ८७ हजार बक्यौता रहेको छ । सिंह वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका काका हुनुहुन्छ । स्वर्गीय खेम बहादुर पराजुलीको नाउँमा पनि ७९ हजार बक्यौता रहेको छ । उहाँ पूर्व मन्त्री एंव राप्रपा नेपालका उपाध्यक्ष राजीव पराजुलीका बुवा हुनुहुन्छ ।

खानेपानी उपभोग गरेबापतको महशुल नबुझाउनेहरुमा पूर्व मन्त्री, पूर्व न्यायधीस, उद्योगी व्यवसायी, समाजसेवी, विभिन्न दलका नेताहरु, कर्मचारी प्रशासकहरुको नाम समेत रहेको छ । खानेपानीको महशुल नतिर्नेको लिष्टमा रहेका व्यक्तिहरुको नाउँ पटक पटक स्थानीय पत्रिकामा सार्वजनिक गरेको तर रकम उठाउन नसकिएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले बताए ।

वीरगञ्ज महानगरपालिका भित्र खानेपानी संस्थानका ७ हजार ५ सय ग्राहक रहेकोमा ६ हजारले महशुल तिरिरहेको तर पुरानो बक्यौताको रकम उठाउन नसकिएको महर्जनको भनाई छ । उनले ताकेता गर्दा समेत रकम उठाउन नसक्ने भएपछि कानुनी प्रकृयाबाट रकम असुल गर्ने अवस्थामा संस्थान पुगेको बताए ।

संस्थानले वीरगञ्ज शाखा अन्तरगत लामोसमय देखि रकम नतिरेका ५४२ जनाको नाम सार्वजनिक गरेपनि अन्य व्यक्तिहरुको समेत नाउँमा बक्यौता रहेका महर्जनले जानकारी दिए । उनका अनुसार ५० हजार भन्दा बढी महशुल रहेका व्यक्तिहरुको नाउँ मात्र अहिले सार्वजनिक गरिएको भएपनि अन्य व्यक्तिहरुलाई ताकेता गरिएको छ ।

मृत्यु भइसकेका व्यक्तिको नाउँमा रहेको बक्यौता मृतकको नजिकको हकवालासँग असुल गरिने वीरगञ्जका प्रमुख महर्जनले बताए । उनका अनुसार विद्यमान खानेपानी संस्थानको ऐन परिमार्जन गरेर पानी महशुलको रकम नतिर्ने व्यक्तिहरुको नाउँ कर्जा सूचना केन्द्रमा कालो सूचीमा राखी बैकिङ कारोवार रोक्ने गरी कानुन परिमार्जनको तयारीमा मन्त्रालय रहेको छ ।

खानेपानी संस्थानको रकम उठाउने बिषयमा वीरगञ्ज महानगरपालिकाले सहयोग नगरेको महर्जनको भनाई छ । खानेपानीको महशुल नतिर्ने व्यक्तिहरुको नाम प्रत्येक वडा कार्यालयमा टाँस गरिएको छ । वडा कार्यालयले दिने सिफारीसमा खानेपानी महशुल तिरेको विल अनिवार्य चाहिने गरेको खण्डमा मात्र रकम असूल्न सकिन्छ ।

महशुल असुल सम्वन्धी अब बन्ने ऐनमा स्थानीय तहले दिने सिफारिस र मालपोतमा घर जग्गा रजिष्ट्रेशन पास गर्दा अनिर्वाय पानीको महशुल तिरेको बिल पेश गर्नुपर्ने कानुनी प्रावधान भए मात्र पुरानो महशुल उठाउन सकिने महर्जनको भनाई छ ।

कालो सुचीका ग्राहकहरु (2)


सम्बन्धित समाचार