Logo

२९ वैशाख,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। उपमहानगरपालिकाका सबै २७ वटा वडामा पूर्ण खोप सुनिश्चितता भएपछि आज करण राज प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा यो घोषणा गरिएको हो।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले दिएको जानकारी अनुसार, उपमहानगरपालिकामा ० देखि ११ महिनासम्मका २९१६ बालबालिका, १२ देखि २३ महिनाका २८२७ बालबालिका र १५ देखि २३ महिनाका १८५६ बालबालिकालाई पाउनुपर्ने सबै खोप लगाइएको छ। स्वास्थ्य शाखा प्रमुख अजय जयस्वालले सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको बताए।

जिल्ला खोप समन्वय समिति र पालिका खोप समन्वय समितिले अनुगमन गरी प्रमाणित गरेपछि वडा खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता गरेको हो। नेपालमा ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा हुनका लागि स्थानीय तहले स्वास्थ्य सेवा विभाग तथा परिवार कल्याण महाशाखाद्वारा तोकिएका प्रमुख मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ।

कलैयाका मेयर बिनोद साहको अध्यक्षतामा र जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपमेयर रौशन प्रविण, जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव, डाक्टर सुरेन्द्र साह, डाक्टर बद्री दास, विभिन्न वडाका अध्यक्षहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार