२९ वैशाख,धनुषा । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीमा भएको विवाह भोजमा खाजा खाँदा जन्तीसहित १०० भन्दा बढी मानिस बिरामी परेका छन्। पेट दुख्ने र बान्ता हुने समस्या देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार, जनकपुर उपमहानगरपालिका–२३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेपछि स्वयम्बर सकिएलगत्तै बुनियाँ, रसबरी लगायतका मिठाई खाँदा बिरामी भएका हुन्।
प्रमुख यादवले जानकारी दिए अनुसार, ४५ जनाभन्दा बढीलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ भने अन्यले नजिकका क्लिनिक तथा अन्य अस्पतालमा उपचार गराइरहेका छन्। उपचारपछि केही बिरामी निको भएर घर फर्किसकेका छन्।
बिरामी हुनुको कारण पत्ता लगाउन खाजाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ र रिपोर्टको अपेक्षा गरिएको छ।

















