Logo

१ जेठ,जनकपुर । मधेश प्रदेश सरकारले गम्भीर प्रकृतिका बिरामीहरूलाई प्रदान गर्दै आएको आर्थिक सहायता बजेट अभावका कारण प्रभावित भएको छ। चार हजारभन्दा बढी बिरामीलाई ४० करोड रुपैयाँभन्दा बढी रकम अपुग भएको छ।

मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर, मुटु, मृगौला, पार्किन्सन, एल्जाइमर, सिकलसेल एनिमिया, थालेसेमिया, मस्तिस्कघात, अर्थराइटिसलगायत १३ प्रकारका गम्भीर रोग लागेका बिरामीलाई गत आर्थिक वर्ष २०८०÷८१ देखि जनही एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

मन्त्रालयका जनस्वास्थ्य प्रशासक सन्तोष ठाकुरका अनुसार गत आर्थिक वर्षमा पनि बजेट अभाव हुँदा निवेदन दिएका ५१७ जना बिरामीले अझै भुक्तानी पाउन बाँकी छ। चालु आर्थिक वर्षमा अहिलेसम्म गत वर्षको बाँकीसहित ९०० जना बिरामीलाई सहायता रकम वितरण गरिएको छ। तर, अहिले बजेट नहुँदा सहायताका लागि निवेदन दिएका ४,००० भन्दा बढी बिरामी भुक्तानीको पर्खाइमा छन्।

ठाकुरले भने, ‘चालु आर्थिक वर्षमा नौ करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो। त्यो बजेट वितरण गरेर सकिसकेको छ। ४ हजार जनाभन्दा बढी बिरामीलाई अझै सहायता वितरण गर्नुपर्ने बाँकी छ। निवेदन परेकाहरूलाई वितरण गर्न ५० करोडसम्म बजेट चाहिन्छ।’

उनका अनुसार बाँकी बिरामीहरूलाई आर्थिक सहायता वितरण गर्न स्वास्थ्य मन्त्रालयले करिब दुई महिनाअघि नै अर्थ मन्त्रालयसँग ३८ करोड रुपैयाँ माग गर्दै निवेदन पठाएको थियो। तर, अहिलेसम्म बजेट प्राप्त नभएका कारण आर्थिक सहायता वितरणको कार्य ठप्प भएको छ। यसले गर्दा गम्भीर रोगका बिरामीहरू उपचारका लागि आर्थिक समस्या झेल्न बाध्य भएका छन्।


सम्बन्धित समाचार