८ जेठ,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्विजरल्यान्डको जेनेभामा सम्पन्न ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पौडेलले यसपटकको सम्मेलन मुख्यतया विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आर्थिक समस्या समाधानमा केन्द्रित रहेको बताए ।
उनले विगतमा डब्लुएचओमा प्राप्त हुने लगानी घटेकाले त्यसलाई सम्बोधन गर्न सदस्यता शुल्क वृद्धि गर्ने र सदस्य राष्ट्रहरूलाई सोहीअनुसार लगानी बढाउन आधिकारिक रूपमा अनुरोध गरिएको जानकारी दिए । “आर्थिक समस्या समाधान गर्नका लागि सदस्यता राष्ट्रहरूका बीचमा छलफल केन्द्रित थियो,“ उनले भने, “खासगरी विगतमा जुन ढंगबाट लगानी प्राप्त हुने स्थिति हो त्यो घटेको स्थिति छ । त्यसलाई समाधान गर्नका लागि सदस्यता शुल्क वृद्धि गर्नेदेखि लिएर जुन लगानी हुँदै आएको थियो ती सम्बन्धित राष्ट्रहरूलाई त्यही ढंगबाट लगानी गर्नका निम्ति आधिकारिक रूपमा विश्व स्वास्थ्य सम्मेलनले अनुरोध गरेको छ ।“
यसका साथै, मन्त्री पौडेलले डब्लुएचओले महामारीबाट बढी प्रभावित हुने देशलाई संस्थाबाटै आधिकारिक रूपमा सहयोग पु¥याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव पास गरेको समेत बताए । यो महासभापछि महामारी भएको मुलुकमा डब्लुएचओले अनिवार्य रूपमा सहयोग प्रदान गर्ने एउटा महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो ।
“विभिन्न पक्षका छलफलहरू निरन्तर जारी रहिरहेको अवस्था छ । लगानी जुटाउने, व्यवस्थित ढंगबाट आर्थिक पक्षमा मजबुत हुने, सदस्य राष्ट्रहरूबाट नै थप लगानीका निम्ति कोशिस गर्ने कामहरू भइरहेका छन्,“ उनले थपे, “खासगरी अहिले डब्लुएचओले महामारी भएको अवस्थामा जुन देश महामारीबाट बढी प्रभावित हुन्छ त्यो देशलाई डब्लुएचओबाटै आधिकारिक रूपमा सहयोग पु¥याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव डब्लुएचओले पास गरेको छ । त्यसबाट हाम्रा जस्ता विपन्न राष्ट्रहरूलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । अरु बेला यस्तो अवस्था बनेको थिएन यो महासभापछि महामारी भएको मुलुकमा अनिवार्य रूपमा डब्लुएचओले सहयोग प्रदान गर्ने यो एउटा उपलब्धि हो ।“

















