Logo

१२ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले पर्साका विभिन्न स्थानबाट १० लाख ८४ हजार १९० रुपैयाँ बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । भन्सार छली चोरी निकासी तथा पैठारी गर्न लागिएका ती सामानहरु सशस्त्र प्रहरीले विशेष अभियान चलाएर नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट ८ लाख ३७ हजार १२० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली लुकाई छिपाई लैजाँदै र भित्र्याउँदै गरेको अवस्थामा दुई थान मोटरसाइकल, किराना सामान, तयारी कपडा, मोबाइल पाट्र्स, मोटर पाट्र्स, फलफूल, मदिरा लगायतका विभिन्न सामानहरु बरामद गरिएको हो। ती सामान ओसारपसारमा प्रयोग भएका मोटरसाइकलहरु समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले अलौ तथा कोनिया इलाकाबाट १ लाख १८ हजार २०० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ। बरामद गरिएका ती सामान पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रसौनिभाठा र सिर्सियाका बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको टोलीले पनि १ लाख २८ हजार ८७० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । यी सामानहरु पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिँहले जानकारी दिए ।


सम्बन्धित समाचार