१२ जेठ, काठमाडौं । भारतका १६ वटा राज्यमा हाल कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये कुल सक्रिय संक्रमितको संख्या १ हजार ९ पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार, यी राज्यहरूमा कोभिड–१९ का बिरामीहरू फेला परेका छन्।
कुन राज्यमा कति संक्रमित?
मन्त्रालयका अनुसार सबैभन्दा बढी सक्रिय संक्रमित महाराष्ट्रमा ४३० जना छन्। त्यसपछि केरलमा ४०३ जना, दिल्लीमा १०४ जना, गुजरातमा ८३ जना, तमिलनाडुमा ६९ जना र कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन्।
अन्य राज्यहरूमा पनि संक्रमण देखिएको छ। उत्तर प्रदेशमा १५ जना, राजस्थानमा १३ जना, पश्चिम बंगालमा १२ जना, हरियाणा र पुडुचेरीमा ९-९ जना, आन्ध्रप्रदेशमा ४ जना, मध्यप्रदेशमा २ जना तथा तेलंगाना, गोवा र छत्तिसगढमा १-१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्वास्थ्यमन्त्रीको आग्रह: ‘चिन्ता नलिनुहोस्, तर सतर्क रहनुहोस्’
कोरोना संक्रमणको बढ्दो जोखिमका बारेमा कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले धेरै चिन्ता लिनु नपर्ने बताएका छन्। उनले दक्षिण पूर्वी एसियाली देशहरूमा कोरोना महामारी बढिरहेको सुनेको भए पनि यो संक्रमण त्यति धेरै जोखिमयुक्त नरहेको र भारतमा देखिएको संक्रमण पनि हल्का प्रकारको रहेको उल्लेख गरे।
उनले महाराष्ट्र र अन्य केही ठाउँहरूमा केही मानिसको मृत्यु भएको खबर आए पनि ती मृत्युहरू कोभिड–१९ सँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएको र ती केसहरूमा अन्य रोगहरू पनि रहेको स्पष्ट पारे। यद्यपि, उनले संक्रमणबारे सतर्क रहनुपर्नेमा जोड दिँदै कोरोना जोखिमबारे निगरानी बढाइएको र केही सावधानीहरू पनि अपनाउने काम भइरहेको बताए।














