१५ जेठ,काठमाडौं । सरकारले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न स्नातक उत्तीर्ण विद्यार्थीहरूलाई स्वयंसेवी शिक्षकका रूपमा परिचालन गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आज संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा यो घोषणा गरेका हुन्।
अर्थमन्त्री पौडेलले स्नातक उत्तीर्ण युवाहरूलाई स्वयंसेवी शिक्षकका रूपमा सामुदायिक विद्यालयमा पढाउन पठाइने जानकारी दिए। यो प्रावधानले सामुदायिक विद्यालयहरूमा शिक्षक अभावलाई पूर्ति गर्न तथा नयाँ र ऊर्जाशील जनशक्तिलाई शिक्षा क्षेत्रमा आकर्षित गर्न मद्दत पुग्ने सरकारको अपेक्षा छ।
प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार, अर्थमन्त्री पौडेलले आज बजेट प्रस्तुत गरेका हुन्। सरकारले यो कदम मार्फत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार ल्याउन खोजेको बताएको छ। यसबाट विद्यार्थीहरूले थप गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ।

















