१५ जेठ,काठमाडौं । सरकारले विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम र छात्रालाई निःशुल्क स्यानेटरी प्याड वितरण कार्यक्रमका लागि आगामी आर्थिक वर्षको बजेटमा उल्लेख्य वृद्धि गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन्।
अर्थमन्त्री पौडेलका अनुसार, कक्षा–५ सम्म सञ्चालित दिवा खाजा कार्यक्रमका लागि १० अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसबाट देशभरका १८ लाख विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। गत आर्थिक वर्षमा यो कार्यक्रमका लागि ८ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको थियो, जुन यस वर्ष १ अर्ब ८० करोड रुपैयाँले बढेको हो।
यसैगरी, छात्राका लागि निःशुल्क स्यानेटरी प्याड वितरण कार्यक्रमका लागि पनि बजेट बढाइएको छ। यसका लागि १ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए। यो कार्यक्रमबाट १३ लाख छात्राहरू लाभान्वित हुने उहाँको भनाइ छ।
सरकारको यो कदमले विद्यार्थीहरूको पोषण सुधार, विद्यालयमा उपस्थिति बढाउनुका साथै छात्राहरूको स्वास्थ्य र सरसफाइमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

















