३१ जेठ,सेढवा । पर्साको ग्रामीण भेगमा लगाएको चैते धान बाली अन्तर्गत हर्दिनाथ–१ (१४४२) जातको धान भित्र्याउन सुरु गरिएको छ। जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रमा पर्ने ठोरी र जिराभवानी गाउँपालिकाका किसानहरूले लगाएको यो जातको धान अहिले कटानी तथा भित्र्याउने क्रममा छ।
यस पटक किसानले यस बालीबाट राम्रो उत्पादन गरे पनि बजार भाउ एकदमै न्यून भएका कारण किसानहरू निराश बनेका छन्। ठोरी गाउँपालिका वडा नं. ५ गडुवालाईनका किसान देवी प्रसाद दहालका अनुसार, किसानहरूले यो बालीबाट प्रति कट्ठा दुई क्विन्टलदेखि तीन क्विन्टलसम्म धान उत्पादन गरेका छन्। धान भित्र्याउन मौसम पनि अनुकूल भएकाले किसानहरूले गुणस्तरीय धान बाली भित्र्याउन पाएको दहालले बताए । मौसमको अनुकूलताका कारण धानको कटानीका लागि हार्वेस्टर मेसिनको प्रयोग गरी धान भित्र्याउन पाएको पनि उनले जानकारी दिए ।
तर, उत्पादन राम्रो भए पनि धानको उचित बजार भाउ नपाउँदा किसानहरू निराश भएका छन्। जिराभवानी गाउँपालिका वडा नं. १ शान्तिनगर निवासी देविका श्रेष्ठले बताए , “अहिले धान खरिद गर्ने व्यापारीहरूले एक हजार सात सयदेखि दुई हजार रुपैयाँ प्रति क्विन्टलको दरले खरिद गरेका छन्।“ यस पालीको उत्पादित धान सुकेको र गुणस्तरीय भए पनि मूल्य अत्यधिक न्यून भएकाले किसानहरू आर्थिक संकटमा पर्ने उहाँको भनाइ छ। गत वर्ष बाली भित्र्याउने समयमा पानी परेकाले धान भिजेका बेलामा पनि दुई हजार आठ सय रुपैयाँदेखि तीन हजार रुपैयाँ प्रति क्विन्टलको दरले बिक्री भएको किसान श्रेष्ठले स्मरण गरे ।
ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरका किसान प्रेम लामाले धानको उचित मूल्य नपाउँदा किसानहरूले धान सुकाई भण्डारण गर्न लागेको बताए। दैनिक ४÷५ जना ज्यामी लगाएर धान सुकाउने कार्यमा लागेको उनले जानकारी दिए ।
ठोरी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष अष्ठबहादुर लोप्चनले खडेरी लागेको समयमा सातामा दुई पटक सिँचाइ गरी उत्पादन गरेको धानको भाउ नपाउँदा किसानमाथि अन्याय भएको बताए । उनले राज्यमा सबैभन्दा पीडित तथा उपेक्षित किसान मात्र रहेको दाबी गर्नुभयो। समयमा रासायनिक मल, कीटनाशक औषधी, उन्नत जातको बीऊ नपाउनु र उत्पादन भएको समयमा उचित मूल्य नपाउनु सरासर गलत भएको वडाध्यक्ष लोप्चनले बताए । खरिदकर्ता मुख्य व्यापारीहरूले किसानलाई ठग्ने नियतले सल्लाह गरी बजार भाउ कायम गरेको भन्दै यसमा नेपाल सरकारले नियमन गर्न आवश्यक रहेको उनले जोड दिए ।

















