२६ असार, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले समस्यामा परेका ४ सय ८५ जनालाई सशस्त्र प्रहरीले सुरक्षित रूपमा उनीहरूको गन्तव्यतर्फ पठाएको छ।
बाढीका कारण अवरुद्ध बनेको स्याफ्रुबेँशी र रसुवागढी सडक खण्डमा सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाएर उद्धार कार्यलाई सहज बनाएका थिए। उक्त बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ। हालसम्म ९ जनाको ज्यान गएको पुष्टि भएको छ । जसमध्ये ४ वटा शव र ५ वटा मानव अङ्ग मात्र फेला परेका छन्। यसैगरी, ३ सुरक्षाकर्मीसहित १४ नेपाली र ६ चिनियाँ नागरिक गरी कुल २० जना अझै बेपत्ता छन्, जसको खोजी कार्य निरन्तर जारी छ।
भौतिकतर्फ, बाढीले भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र एउटा विद्युतीय गाडीलाई सुरक्षित स्थानमा सारिएको छ। ल्हेन्दे खोलाबाट आएको लेदोसहितको बाढी भोटेकोशीमा मिसिँदा नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ, जसले नेपाल-चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध बनेको छ।
थप जोखिममा रहेका १६५ घरपरिवारलाई पनि भोटेकोशी नदी किनारबाट सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ।















