Logo

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै घरजग्गा क्षेत्रमा लचिलो नीति अपनाएको छ।

गभर्नर विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार व्यक्तिगत घर कर्जाको अधिकतम सीमा र घरजग्गा खरिदमा दिइने कर्जाको अनुपात दुवै बढाइएको छ। नयाँ व्यवस्थाअनुसार, व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्‍याइएको छ। यसले व्यक्तिगत घर खरिदका लागि वित्तीय पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, घरजग्गा खरिदमा दिइने कर्जाको अनुपात पनि बढाइएको छ। यसअघि बैंकहरूले घरजग्गाको मूल्यांकनको अधिकतम ५० प्रतिशत मात्र ऋण दिन पाउने व्यवस्था थियो, जसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ। यसको अर्थ अब घरजग्गाको मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर खरिद गर्न सकिनेछ।

यी परिवर्तनहरूले घरजग्गा बजारमा तरलता प्रवाह बढाउनुका साथै सर्वसाधारणलाई घरजग्गा खरिदमा सहजता प्रदान गर्ने ठानिएको छ ।


सम्बन्धित समाचार