३० असार, वीरगञ्ज । “घुस रकम डिल” गरेको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुसको नाउँमा कसैको “एक कप चिया” खाएको भए टुडिखेलमा झुण्डिन तयार रहेको बताएका छन् । उनले अडियो आफ्नो नभएको र यदी कसैले भएको प्रमाणित गरेमा नेपालको नागरिकता त्यागेर देश छोडने चुनौति दिएका छन् ।
“घुस डिल”को अडियो गएको असार १२ गते रेस खवरले सार्वजनिक गरेको थियो । अडियो सार्वजनिक भएको १८ दिन पछि (असार २९ गते) मात्र मन्त्री गुप्ताले आफ्नो आवाज केही सत्य भएपनि केही अंश नक्कली भएको दावी गरेका छन् । मन्त्री गुप्ताले विचौलियालाई आफूले नचिनेको र नभेटेको दावी गरेका छन् ।
कास्की जिल्ला मालपोत कार्यालय प्रमुख र भुमि आयोगको अध्यक्षमा विचौलियाले भनेको व्यक्ति पठाउने शर्तमा ७८ लाख घुसको डिल गदैै गरेको अडियो बाहिएको थियो । यो अडियो गएको पुषको अन्तिम साताको थियो । मन्त्री गुप्ताको क्वाटरमा पूर्व भुमि व्यवस्था मन्त्री रंजिता श्रेष्ठसहित गएको विचौलिया सुजन लामाले उक्त अफर गरेका थिए ।
सुजन लामा पोखराका चर्चित विचौलिया हुन । उनी भूमाफियाको समूहमा रहेको उनलाई चिन्नेहरुले बताउने गरेका छन् । तत्कालिन भूमि व्यवस्था मन्त्री रंजिता श्रेष्ठको समयमा पोखरा महानगरपालिका वडा नंं. १६ मा रहेको लिचि गार्डेनको १३० रोपनी जग्गा हडप्ने योजनामा थिए भूमाफियाहरु । मन्त्री श्रेष्ठको पद खुस्केपछि विचौलियाको योजना अधुरो रहेको थियो ।
विचौलियाले लम्जुङ मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीलाई कास्की मालपोतमा लैजाने प्रस्ताव लिएर मन्त्री गुप्ताकहाँ पुगेका थिए । विचौलियाले दिएको घुस बापतको पेश्की रकम छोडेर आएको तर मन्त्री गुप्ताले काम नगरेको रिसमा सुजन लामाले नै अडियो सार्वजनिक गरेको स्रोतको भनाई छ ।
यो अडियो फाइल २०८१ फागुनको पहिलो हप्ता प्रधानमन्त्री केपी ओलीकहाँ पुगेको थियो । ओलीले ४ महिना अघिनै पाएको सुचनामा कुनै छानवीन गरेनन् । उल्टै विचौलियाको रुमपा रहेका सुजन लामा सहितको टोलीलाई विभिन्न आरोपमा भित्र हाल्ने धम्की आउन थाल्यो । लामाले आफूले दिएको घुसको पेश्की रकम फिर्ता मागेका थिए ।
विचौलियाको काम पनि भएन, घुस बापत दिएको रकम पनि फिर्ता नपाएपछि यो अडियो बाहिर आएको हो । सामान्य प्रशासन मन्त्री गुप्ताको घुस प्रकरण यसमा मात्र सिमित छैन । उनले कर्मचारीको सरुवामा समेत घुस लिएको अडियो र भिडियो विभिन्न व्यक्तिहरुले बोकेर एमाले पाटीका नेता र प्रधानमन्त्री कहाँ पुग्ने गरेको स्रोतको भनाईँ छ ।
मन्त्री गुप्ताले घुस लिएको कुरा अस्वीकार गरेपनि लेनदेनमा प्रत्यक्षदर्शीको रुपमा पूर्व मन्त्री रंजिता श्रेष्ठ समेत रहेको स्रोतको भनाई छ । पूर्व मन्त्री श्रेष्ठले सुजन लामालाई लिएर मन्त्री गुप्ताको निवास पुगेको स्वीकार गरेकी छन् । उनले स्वीकार गरेको अडियो समेत सार्वजनिक भएको छ ।
भ्रष्टाचारीको मुख नहर्ने प्रधानमन्त्री केपी ओलीले आफ्ना मन्त्रीहरुको घुस लेनदेनका अडियो र भिडियो बाहिर आउदाँ सम्म के हेर बसेका छन् ? आम नागरिकले प्रश्न गरेका छन् । मन्त्री गुप्ताको घुस डिल गरेको अडियो एक पटक सुनौ है । के मन्त्री गुप्ताको आवाज नक्कली हो र ?

















