२ साउन, वीरगञ्ज । नेपाली उद्योगबाट उत्पादित गलैँचा अब तेस्रो मुलुकमा पनि निर्यात हुन थालेको छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले पहिलोपटक संयुक्त अरब इमिरेट्स, केन्या र संयुक्त राज्य अमेरिका लगायतका देशमा आफ्ना गलैँचा निर्यात गर्न सफल भएको हो ।
गत बिहीबार मात्र उद्योगले ३० हजार वर्गमिटर गलैँचा वीरगञ्जस्थित सुक्खा बन्दरगाहमार्फत निर्यात गरेको छ । उद्योगका युनाइटेड सञ्चालक अमन साहले करिब रु १ करोड बराबरको मूल्यमा गलैँचा निर्यात गरिएको जानकारी दिए । उनका अनुसार उद्योगले यसअघि भारतमा मात्रै निर्यात गर्दै आएको थियो, तर अब तेस्रो मुलुकसम्म पुग्नु ठूलो उपलब्धि हो ।
“निरन्तर मेहनत र प्रयासपछि आज हाम्रो उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्न सफल भएको छ,” सञ्चालक साहले भने, “यो उपलब्धिले नेपाली उत्पादनको सम्भावना देखाएको छ ।”
जितपुर–सिमरा उपमहानगरपालिका–२३ मा रहेको उक्त उद्योगले हाल १०० जनालाई रोजगारी दिएको छ भने २० लाख वर्गमिटर वार्षिक उत्पादन क्षमताका साथ सञ्चालनमा छ । उद्योगले रु ९०० देखि रु ४ हजार प्रतिवर्गमिटर मूल्यका विभिन्न डिजाइन र गुणस्तरका गलैँचा उत्पादन गर्छ । पाँच वर्षअघिदेखि सञ्चालनमा रहेको उद्योगमा हालसम्म रु ४० करोडको लगानी भइसकेको छ ।
यस उपलब्धिप्रति खुशी व्यक्त गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले भने, “विदेशबाट कच्चा पदार्थ ल्याएर स्वदेशमै प्रशोधन गरी तेस्रो मुलुकमा निर्यात गर्नु नेपाली उद्योगको सशक्तताको प्रमाण हो ।”
यो प्रगति नेपाली उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने दिशामा एक महत्वपूर्ण कदम भएको विश्लेषण गरिएको छ । रासस















