Logo

५ साउन, काठमाडौँ । धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै आइतबार राति भीषण आगलागी हुँदा आठवटा सटरमा क्षति पुगेको छ । विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार हेलेन ट्रेड एण्ड सप्लायर्स अन्तर्गत विश्वप्रकाश कँडेलले सञ्चालन गरेका चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन सटर र सेन्टर प्वाइन्ट रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

आगलागी आइतबार राति करिब १०ः४५ बजे सुरु भई राति १२ बजे नियन्त्रणमा ल्याइएको थियो । आगो नियन्त्रणका लागि प्रहरी उपरीक्षक बालनरसिंह राणाको नेतृत्वमा नेपाल प्रहरीका ४५ जना र सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको नेतृत्वमा सशस्त्र प्रहरीका २५ जना सुरक्षाकर्मी खटिएका थिए ।

दमकल परिचालनमा धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल प्रयोग गरिएको थियो । स्थानीय बासिन्दाहरूको सक्रिय सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो ।

आगलागीका कारण सटरभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन्। घटनाको थप विवरण र क्षतिको मूल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार