१३ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाइए पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन् ।
आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा पराजित भएपछि पनि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिनु नपर्ने र नदिने जिकिर गरेका हुन् । मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री लामाले भने, ‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन। सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो। मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै आधार छैन। हटाउनुपर्ने पनि होइन। मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन।’
‘पार्टीभित्रै प्रपञ्च रचियो’
मुख्यमन्त्री लामाले आफूमाथि पार्टीभित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आजैमात्र थाहा पाएको बताए। ‘सबैलाई मिलाएर अघि बढौँ भन्दा विभिन्न जालहरू रचिएको रहेछ। मलाई थाहा थिएन। मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछन्। कसैको प्रेसर पनि रहेछ,‚ उनले भने, ‘नेताहरू यसरी लाग्नु भनेको राम्रो होइन। लोकतान्त्रिक विधिमा जानुपर्छ भन्ने हो। लोकतान्त्रिक विधि अनुसार प्रक्रिया सुरु हुन्छ।’
मत विभाजन प्रक्रियामा लामाको पक्षमा १५ मतमात्रै परेको थियो भने विपक्षमा २२ मत खसेको थियो। उनले हिजोसम्म संसदीय दलको नेता भए पनि आजबाट नरहेको स्वीकार गरे।
‘मुख्यमन्त्री फेर्न सकिँदैन, दलको नेता हुनु पर्दैन’
लामाले आफ्नो अडानमा थप तर्क गर्दै भने, ‘मुख्यमन्त्री त फेर्नै सक्दैन। दलको नेता भएर हो। कोलेसन गभर्मेन्ट हो। मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन।’ उनले राजीनामा गर्नुपर्ने कुनै अवस्था नरहेको दोहोर्याउँदै थपे, ‘संविधानमा एउटा पूर्ण बहुमत भएको सरकारमा नेपाली कांग्रेस पूर्ण भयो भने संसदीय दलको नेता आवश्यक पर्छ। कोलेसन गभर्मेन्टमा कोलेसन भयो भने बहुमत पुग्छ।’
लामाको यो अडानले बागमती प्रदेशको राजनीतिक परिदृश्यमा थप जटिलता थपेको छ, र आगामी दिनमा उनको मुख्यमन्त्री पद कायमै रहन्छ वा रहँदैन भन्ने स्पष्ट हुन बाँकी छ।















