१४ साउन, काठमाडौं । बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि मुख्यमन्त्री बहादुर सिंह लामा र प्रदेशसभा सदस्य इन्द्र बानियाँ बीच पुनः प्रतिस्पर्धा हुने भएको छ ।
आजका लागि निर्धारित निर्वाचनमा दुवै नेताले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी छन् । यसअघि नै उम्मेदवारी दर्ता गराएका बानियाँको प्रस्तावकमा यांकिला शेर्पा र समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् ।
निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार उम्मेदवारको दरखास्त दर्ता कार्यक्रम बिहान ११ बजे सम्पन्न भएको छ। प्रारम्भिक नामावली ११ः३० बजे प्रकाशन गरिनेछ भने उम्मेदवारले दिउँसो १२ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्। अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन भएपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
मतदान कार्यक्रम कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा हुनेछ । मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गरी सोही दिन निर्वाचन परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ। समितिमा ऋषिराम घिमिरे र जीवन ढुङ्गेल सदस्यका रूपमा रहेका छन् ।
मुख्यमन्त्री लामाले गत शुक्रबार उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बुधबार भएको मतदानमा विश्वासको मत गुमाएका थिए । उनले १५ मत पाउँदा विपक्षमा २२ मत खसेको थियो।

















