१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको टोली भैरहवामा भेला भएको छ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डिपीं) अर्याल र संसदीय दलका उपनेता डा. स्वर्णिम वाग्लेसहित अधिकांश सांसदहरू मंगलबार साँझदेखि भैरहवामा छन्। संसदीय दलको बैठकअघि कारागारमा रहेका पार्टी अध्यक्ष रवि लामिछानेलाई सामूहिक भेट्ने प्रयास भने प्रशासनले अस्वीकृत गरिदिएको छ।
प्रशासनले सामूहिक भेटमा रोक लगाएपछि कार्यवाहक सभापति डिपी अर्यालले मंगलबार र सांसद सोविता गौतमले बुधबार बिहान रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। स्रोतका अनुसार अर्यालले लामिछानेसँग १५ देखि २० मिनेट कुराकानी गरेका थिए। यो भेटमा पछिल्लो राजनीतिक अवस्था, रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचन र रास्वपाको संसदीय दलको नेतृत्वबारे छलफल भएको अनुमान गरिएको छ।
लामिछानेको सांसद पद निलम्बनमा परेपछि रास्वपा संसदीय दल नेतृत्वविहीन अवस्थामा छ र कार्यवाहक पनि तोकिएको छैन। यस विषयमा अर्यालले लामिछानेसँग कुरा गरे पनि लामिछानेले तत्काल दलको नेता छान्नेबारे कुनै सङ्केत नदिएको र ‘अहिले जुन अवस्थामा छ, त्यसमै अघि बढ्ने’ गरी छलफल गर्न मात्र भनेको स्रोतले बताएको छ। अन्य राजनीतिक विषय र पार्टीले खेल्नुपर्ने भूमिकामा पनि लामिछाने सन्तुष्ट नदेखिएको स्रोतको दाबी छ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म कारागारबाट १० मिनेटको दूरीमा रहेको होटल रमादामा रास्वपा संसदीय दलको बैठक बस्दैछ। पार्टीका जिल्ला सभापति डा। बुद्धिप्रसाद शर्माले सो जानकारी दिएका छन्।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार, बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्मा पार्टीले उठाएको ‘भिजिट भिसा प्रकरण’ लगायतका मुद्दामाथि छलफल हुनेछ। उनले सरकारले विपक्षीको माग सम्बोधन नगरी संसद् चलाएको, विभिन्न विधेयक र भ्रष्टाचारका मुद्दामा पार्टीको अडानबारे समीक्षा हुने पनि बताए। यद्यपि, दलको नेता चयनको विषय बैठकको एजेन्डा नरहेको परियारले स्पष्ट पारेका छन्।
संसदीय दलको बैठक सकिएपछि सांसदहरू पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी हुनेछन् । साथै, आगामी रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका विषयमा पनि बैठकमा छलफल हुने परियारले जानकारी दिए। पार्टीले यस उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट साउन २१ गतेसम्म आवेदन माग गरिसकेको छ।















