प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ साउन, काठमाडौं । बागमती प्रदेशमा नियुक्त भएका नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ।

बागमती प्रदेश प्रमुखलाई अचानक स्वास्थ्य समस्या देखिएपछि आज दिउँसो १ बजेका लागि तय गरिएको शपथग्रहण कार्यक्रम रोकिएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको स्वास्थ्यमा अकस्मात समस्या आएको र उपचारका लागि आज बिहानै काठमाडौं प्रस्थान गरेकाले शपथग्रहण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्। अर्को सूचना नआएसम्म शपथग्रहण नहुने उनले बताए।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण उनीहरूको शपथ बुधबार नगरिएको र बिहीबारका लागि तय गरिएको थियो ।

मुख्यमन्त्रीको पदमाथि प्रश्नचिन्ह, संवैधानिक अडान

यसअघि, संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए। बानियाँले बहुमत सदस्य आफ्नो पक्षमा रहेको भन्दै लामालाई मुख्यमन्त्री पद छोड्न दबाब दिइरहेका छन् ।

तर, मुख्यमन्त्री लामाले भने आफू संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री बनेकाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजीनामा दिनु नपर्ने तर्क गरिरहेका छन्। संविधानको उक्त धारामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ। यसै व्यवस्थाअनुसार मुख्यमन्त्री बन्न पार्टीको संसदीय दलको नेता हुनु नपर्ने लामाको भनाइ छ।


सम्बन्धित समाचार