१५ साउन, पर्सा । पोखरिया नगरपालिकाले साउन १ गतेदेखि ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरुलाई हटाएको विरोधमा ती कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।
नियुक्ति पाएको एक वर्ष बितिसक्दा पनि तलब सुविधा नपाएको, नियुक्तिका बेलामा गैरकानुनी रुपमा लिइएको रकम फिर्ता नभएको र भविष्यमा पनि रोजगारको सुनिश्चितता नदिइएको भन्दै ती कर्मचारीहरुले बिहीबार पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानलाई चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।
राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय राजनीतिक समिति सदस्य निजामुदिन समानीको नेतृत्वमा आन्दोलनरत कर्मचारीहरुले ज्ञापनपत्र बुझाउँदै आफ्नो न्यायोचित माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।
उनीहरुले उठाएका मुख्य चार बुँदे मागहरु यसप्रकार छन्:
-
नियुक्तिपत्र दिने बेलामा लिइएको गैरकानुनी रकम तत्काल फिर्ता गरिनुपर्छ।
-
जागिर अवधिको सम्पूर्ण तलब भत्ता उपलब्ध गरिनुपर्छ।
-
आगामी दिनमा रोजगारीको सुनिश्चितता गरिनुपर्छ।
-
अनियमित रूपमा हटाइएको विषयमा छानबिन गरिनुपर्छ।
ज्ञापनपत्र बुझाइसकेपछि आन्दोलनरत कर्मचारीहरुले एक महिनाभित्र आफ्नो माग पूरा नभए नगरपालिका विरुद्ध भण्डाफोर अभियान चलाउने र थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
यो विषयले स्थानीय प्रशासनको जवाफदेहिता र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ। अब नगरपालिका प्रशासनले कसरी यो विवाद समाधान गर्छ भन्ने कुराले अवस्था कता मोडिन्छ भन्ने निर्क्यौल गर्नेछ।

















