१६ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज शुक्रबारदेखि सुरु हुँदैछ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा दिउँसो १ बजे सुरु हुने पार्टी सचिव लीलामणि पोखरेलले जानकारी दिएका छन् ।
चार दिनसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अवस्थाबारे विस्तृत ब्रिफिङ गर्ने छन्। त्यसैगरी, मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिने रणनीति, नेकपा (एकीकृत समाजवादी) सँगको सम्भावित पार्टी एकताको विषय, र आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्ने जस्ता एजेन्डाहरू बैठकको कार्यसूचीमा रहेका छन् ।
बैठकमा पार्टीभित्र देखिएको असन्तोष र नेतृत्व परिवर्तनको विषय पनि महत्वपूर्ण रूपमा उठ्ने भएको छ । उपमहासचिव जनार्दन शर्मा नेतृत्वमा केही नेताहरूले विशेष महाधिवेशनको माग गर्दै आन्तरिक अन्तरसंघर्ष चर्काइरहेका छन्। शर्मा, सुदन किरात लगायत नेताहरूले पार्टीलाई वैचारिक रूपमा सबल बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवाज उठाइरहेका छन् ।
यसअघि, साउन १४ गते बसेको पदाधिकारी बैठकमा उपमहासचिव शर्मासहित नेतृत्वमाथि प्रश्न उठाउने नेताहरूविरुद्ध कारबाहीको प्रस्ताव समेत उठेको थियो। यद्यपि, अध्यक्ष प्रचण्डले सबै असन्तुष्टि समाधान भइसकेको दाबी गरेका छन् ।















