१६ साउन, काठमाडौं। विभिन्न राजनीतिक दलसँग आबद्ध १६ विद्यार्थी संगठनले विद्यालय शिक्षक नियुक्तिमा शतप्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् ।
शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विद्यालय शिक्षा विधेयकमा यस्तो व्यवस्था राख्न सरकारसँग जोडदार माग गरेका हुन् । विद्यार्थी संगठनहरूले सरकारले बारम्बार विद्यालय शिक्षा ऐन ल्याउने प्रतिबद्धता जनाए पनि अझैसम्म जारी गर्न नसकेकोमा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले यो ढिलाइलाई सरकारी उपेक्षा र बेवास्ता को परिणाम भनेका छन् । विद्यार्थी संगठनहरूले शिक्षक नियुक्ति प्रक्रियालाई समावेशी र शतप्रतिशत खुला प्रतिस्पर्धामूलक बनाइनुपर्ने, संविधानको धारा ३१ अनुसार माध्यमिक तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क हुनुपर्ने, शिक्षा ऐन, २०२८ अनुसार सबै प्रकारका शिक्षक र कर्मचारीहरूको व्यवस्थापनको जिम्मेवारी राज्यले लिनुपर्ने, विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा विद्यार्थी संगठनहरूलाई पनि सहभागी गराइनुपर्ने लगायको सरकारसँग माग राखेका छन् ।
साथै, त्रिभुवन विश्वविद्यालय लगायतका सबै विश्वविद्यालयहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) वा कल्याण परिषद्को निर्वाचन गराउनुपर्ने भनिएको छ । विद्यार्थी संगठनहरूले यी मागहरू सम्बोधन गरी विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग आग्रह गरेका छन्।
















