७ भदौ,वीरगञ्ज । लामो समयदेखि रासायनिक मलको अभावमा परेका सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूले अन्ततः राहत पाएका छन्। मल वितरणमा देखिएको विवाद र अव्यवस्थाका कारण किसानहरू समयमै मल पाउनबाट वञ्चित हुँदै आएका थिए।
आज गाउँपालिका अध्यक्ष जसवन्त यादवको सक्रिय पहलमा रासायनिक मल वितरण सुरु गरिएको हो। मल वितरण सुरु भएपछि स्थानीय किसानहरूमा खुसीयाली छाएको छ। उनीहरूले अबको खेती सिजन सहज रूपमा अघि बढाउने आशा व्यक्त गरेका छन्।
“हामी धेरै दिनदेखि मलको पर्खाइमा थियौं। अध्यक्षज्यूको पहलले हामीले आज मल पायौं,“ एक स्थानीय किसानले बताए।
यसअघि, मल वितरण प्रक्रियामा देखिएको अनियमितता र समन्वय अभावले गर्दा किसानहरूलाई ठूलो सास्ती भएको थियो। कतिपय किसानहरूलाई मलको नाउँमा खाली हात फर्कनुपरेको थियो।
तर, आजको व्यवस्थित वितरण कार्यक्रमले ती समस्याहरूलाई केही हदसम्म समाधान गरेको छ। गाउँपालिका अध्यक्ष यादवले वितरण प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न विशेष ध्यान दिइएको जानकारी दिए।
“हामी किसानको पिडा बुझ्छौं। अबदेखि यस्ता समस्या नदोहोरिऊन् भनेर पालिकाले विशेष योजना बनाउँदैछ,“ अध्यक्ष यादवले बताए।
स्थानीय तहको पहल र सक्रियताले किसानहरूमा आशा जगाएको छ कि अबको खेती सिजन मल अभावका कारण प्रभावित नहुनेछ।

















