१७ भदौ, काठमाडौं । अर्घाखाँचीमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरी शवलाई घरकै भान्छाकोठामा गाडेको डरलाग्दो घटना बाहिर आएको छ।
केही दिनदेखि बेपत्ता महिलाको खोजी गर्ने क्रममा प्रहरीले उनकै घरको भान्छामा गाडेको अवस्थामा शव फेला पारेको हो ।
कसरी बाहिरियो घटना?
यो घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, पातलेपोखराको हो। प्यूठानका ३६ वर्षीय किरण गुरुङ आफ्नी श्रीमती सुमित्रा कुमाल गुरुङ र ९ वर्षीया छोरीसँग त्यहाँ बस्दै आएका थिए। पछिल्लो केही दिनदेखि सुमित्रा बेपत्ता भएपछि उनको माइती पक्ष र छरछिमेकले १६ भदौमा प्रहरीलाई मौखिक जानकारी दिएका थिए।
प्रहरीले अनुसन्धान सुरु गरेपछि सुमित्राको घरमा आएको दुर्गन्धले प्रहरीलाई शंका लागेको थियो । त्यसपछि घरको भान्छाकोठा खनेर हेर्दा गाडेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्र मल्लले बताए ।
हत्याको रहस्य
प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो घटना भदौ १२ गते राति भएको खुलेको छ। सो रात किरणले मादक पदार्थ सेवन गरी श्रीमतीसँग विवाद गरेपछि उनलाई बाँसको भाँटा र हँसियाले हानेर हत्या गरेको पाइएको छ। हत्यापछि उनले शवलाई कम्बलले पोको पारी घरकै भान्छाकोठामा खाल्डो खनेर गाडेको प्रहरीले जनाएको छ।
हत्याका बेला ९ वर्षीया छोरी पनि घरमै थिइन्। किरणले घटना बाहिर ल्याए छोरीलाई पनि मार्ने धम्की दिएका कारण छोरीले केही भन्न नसकेको एक अनुसन्धान अधिकृतले बताए।
प्रहरीको कारबाही
प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका बाँसको लाठ्ठी, हँसिया, गैंची र बेल्चा लगायतका सामग्री बरामद गरेको छ। श्रीमतीको हत्या गर्ने किरण गुरुङलाई पक्राउ गरी उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ। प्रहरीका अनुसार किरण र सुमित्रा दुवैको यो दोस्रो विवाह थियो।















