Logo

२३  भदौ , काठमाडौँ । सत्तारुढ दल निकटसहितका विभिन्न १७ विद्यार्थी संगठनहरूले सामाजिक सञ्जाल बन्दीले विद्यार्थीको अध्ययन, अनुसन्धान, व्यवसाय र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर असर परेको भन्दै सरकारलाई तत्काल निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

सङ्गठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द हुँदा शैक्षिक वातावरण प्रभावित भएको र विद्यार्थीको अनुसन्धानात्मक कार्यमा अवरोध सिर्जना भएको उल्लेख गरेका छन्। साथै, यस कदमले सर्वसाधारणको अभिव्यक्ति स्वतन्त्रता संकुचित मात्र नभई साना तथा मझौला व्यवसायको अस्तित्व नै संकटमा पार्ने खतरा बढाएको उनीहरूको तर्क छ।

तथ्याङ्कअनुसार, नेपालका करिब ७० प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमार्फत ग्राहक सम्पर्क र बजार विस्तारमा निर्भर छन्। विद्यार्थी सङ्गठनहरूको भनाइमा, प्रतिबन्धले हजारौँ मानिसको रोजगारी गुम्ने र व्यावसायिक संरचना नै धराशायी हुने जोखिम बढेको छ।

विद्यार्थी सङ्गठनहरूले सरकारसँग तत्काल सामाजिक सञ्जाल पुनः सञ्चालन गर्न, अभिव्यक्ति स्वतन्त्रता, शिक्षा, रोजगारी र आर्थिक अवसरलाई हानि पुर्‍याउने नीतिहरू फिर्ता लिन र विद्यार्थी, डिजिटल सामग्री निर्माता, व्यवसायी तथा सरोकारवालासँग संवाद गरेर व्यवहारिक समाधान निकाल्न माग गरेका छन्।

त्यस्तै, सामाजिक सञ्जाल सञ्चालक कम्पनीलाई नेपालको कानुनअनुसार दर्ता तथा सूचीकरणमा सहभागी गराउनुपर्नेमा जोड दिँदै उनीहरूले हाल कायम जटिल प्रक्रिया सरल बनाई व्यवहारिक बनाउने पहल गर्न सरकारसँग आह्वान गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै