२४ भदौ, काठमाडौं। देशभर चर्किंदै गएको जेनजी आन्दोलनले मंगलबार काठमाडौंमा उग्र रूप लिँदा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा आक्रमणमा परेका छन्।
प्रदर्शनकारी युवाहरूको एक समूहले सिंहदरबार नजिकै देउवा दम्पतीमाथि हातपात गरेको हो। उनीहरूलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरे पनि सामान्य चोटपटक लागेको जनाइएको छ।
जेनजी (Gen-Z) युवाहरूको नेतृत्वमा भइरहेको यो आन्दोलनले आज सिंहदरबार, संसद भवन, शीर्ष नेताहरूको निवासलगायत संवेदनशील क्षेत्रमा तोडफोड र आगजनी गरेको छ।
त्यस्तै, नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा समेत आक्रमण भएको छ। प्रहरी प्रभागहरूमा समेत निरन्तर आक्रमण भइरहेको र दर्जनौं प्रहरी घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
सरकारले प्रदर्शन नियन्त्रणका लागि थप सुरक्षा फौज परिचालन गरेको छ भने राजधानीका मुख्य क्षेत्रहरूमा कर्फ्युको तयारी भइरहेको छ।
युवाहरूको आक्रोशको कारण र मागहरूबारे हालसम्म स्पष्ट विवरण आएको छैन, तर लामो समयदेखि बेरोजगारी, शिक्षा प्रणाली र राजनीतिक नेतृत्वप्रति असन्तुष्टि रहेको बताइएको छ।
















