Logo

२६ भदौ, काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको राजनीतिक परिस्थितिमा गम्भीर चेतावनी दिँदै संविधान, व्यवस्था र प्रणालीमाथि भयानक षड्यन्त्र भइरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले नेपाल र नेपालीको सुदूर भविष्यका बारेमा सोच्न आग्रह गरेका छन्।

बर्तौलाले लेखेका छन्, “नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे; उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालै नरहे।” यस मार्मिक भावनाका साथ उनले राष्ट्रियता, स्वाधिनता, भौगोलिक अखण्डता र लोकतन्त्रको रक्षाको महत्व औंल्याएका छन्।

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा जनताले सरकारमाथि प्रश्न उठाउने, आलोचना गर्ने, असहमति जनाउने र नयाँ सरकारको माग गर्न पाउने अधिकारहरू संविधानले प्रत्याभूत गरेको हो। तर, यस्ता अधिकार प्रयोग गर्दा कर्तव्य, जिम्मेवारी र राष्ट्रप्रतिको जवाफदेहितालाई बिर्सन नहुने कुरामा उनले जोड दिएका छन्।

बर्तौलाले लेखेका छन्, “निरंकुशता र अधिनायकवादका विरुद्ध जीवनभर लडेका राजनीतिक दल र नेतृत्वका लागि सत्ता कुनै अलौकिक कुरा होइन। यो जनताले निर्धारण गर्ने प्रक्रिया हो।”

उनले हालै सरकारबाट मार्गप्रशस्त गर्नुको अर्थ संसदको निर्णयको सम्मान र लोकतान्त्रिक प्रक्रियाको स्वीकारोक्ति भएको जनाउँदै नयाँ सरकार निर्माणको जिम्मेवारी संविधान अनुसार राष्ट्रपति कार्यालयले चाँडो पूरा गर्नुपर्ने उल्लेख गरेका छन्।

“राजनीतिक समस्याको समाधान सदैव संविधानले तोकेको लोकतान्त्रिक बाटोबाट हुनुपर्छ,” बर्तौलाको भनाइ छ।

तर, उनले राष्ट्र र संविधानविरुद्ध षड्यन्त्र भइरहेको गम्भीर आशंका व्यक्त गरेका छन्। उनले भनेका छन्, “यस समय संविधान, व्यवस्था र प्रणालीमाथि नै खतरा उत्पन्न हुने गरी भयानक षड्यन्त्र हुन खोजिरहेको छ।”

बर्तौलाले चेतावनी दिएका छन् कि व्यक्तिगत इगो र निजी स्वार्थभन्दा माथि उठेर सबैले राष्ट्रको दीर्घकालीन हितका लागि सोच्नुपर्ने बेला आएको छ।


सम्बन्धित समाचार