Logo

२६ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने सुझाव दिएकी छन्।

‘जेनजी’ प्रदर्शनका क्रममा १९ युवाको ज्यान गएपछि भड्किएको हिंसा, आगजनी र तोडफोडका कारण मुलुक स्तब्ध बनेको भन्दै उनले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो संवेदनशील घडीमा संविधानको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिएकी हुन्।

भण्डारीले विज्ञप्तिमा भनेकी छन्, “प्रधानमन्त्रीले राजीनामा दिएपछि सरकार कामचलाउ अवस्थामा छ। तर संविधानले सुनिश्चित गरेका राष्ट्रपति र जननिर्वाचित संसदजस्ता संस्थाहरू विद्यमान छन्। त्यसैले वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्नुपर्ने हुन्छ।”

उनले युवा पुस्ताको आन्दोलनलाई लोकतान्त्रिक मूल्य र मान्यतासहित सही दिशातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औंल्याउँदै हिंसा र तोडफोडबाट राज्य तथा सम्पदामा पुगेको क्षतिको गम्भीर छानबिन गर्नसमेत सम्बद्ध सबैलाई आग्रह गरेकी छन्।

भण्डारीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित आन्दोलनरत ‘जेनजी’ पुस्ताको सपनालाई लोकतान्त्रिक र अग्रगामी हुने विश्वास व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल बन्द गरिँदा निस्सासिएको समाजलाई स्वतन्त्रताको वातावरणमा फर्काउने युवाहरूको चाहना पूरा हुनुपर्नेमा जोड दिइन्।


सम्बन्धित समाचार