२६ भदौ, काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट हालै भागेका सञ्जय साह टक्ला काभ्रेपलाञ्चोकबाट पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
टक्लालाई पक्राउपछि पुनः कारागारमै पठाउने तयारी गरिएको छ। जेनजी आन्दोलनका क्रममा उत्पन्न अराजक अवस्थाको फाइदा उठाउँदै टक्लासहित अन्य थुनुवा नख्खु कारागारबाट भागेका थिए।
सहकारी ठगी आरोपमा पुर्पक्षमा रहेका रवि लामिछानेलाई आन्दोलनको क्रममा सुरक्षाको कारण देखाउँदै कारागारबाट निकालिएको केही समयमै टक्लासहित अन्य कैदीहरू भागेका थिए। त्यसक्रममा उनीहरूले कारागारमा आगजनी समेत गरेका थिए।
टक्ला १२ वर्षदेखि कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए। उनी पूर्वराज्यमन्त्री समेत रहिसकेका व्यक्ति हुन्।
१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा भएको बम विष्फोटमा ५ जनाको मृत्यु भएको थियो। उक्त घटनामा टक्ला मुख्य अभियुक्तको रूपमा दोषी ठहरिएका थिए। साथै, उनीमाथि जनकपुरस्थित रेडियो टुडेका सञ्चारकर्मी अरुण सिंहानियाको हत्या योजनामा संलग्न रहेको अभियोगसमेत लागेको छ।
टक्लाको पुनः गिरफ्तारीसँगै जेनजी आन्दोलनपछिको अराजक परिस्थितिमा भागेका कैदीहरूको खोजीमा पनि केही सफलता मिलेको सुरक्षास्रोतको दाबी छ।















