२६ भदौ, काठमाडौं । नेपालका प्रमुख विद्यार्थी संगठनका पूर्व नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै ‘जेन-जी’ आन्दोलनले उठाएका मागहरूलाई संविधानको परिधिभित्र रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले संसद् भित्रबाटै राजनीतिक निकास खोज्न र नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन्।
नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका पूर्वअध्यक्ष नविना लामा, र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसहितका नेताहरूले गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेका छन्।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थी तथा आम जनताका मागहरूलाई सम्बोधन गर्न र जनचाहनाअनुरुप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै सम्भव छन्।’
उनीहरूले संसद विघटन, राष्ट्रपतिको राजीनामा, र कथित स्वतन्त्र व्यक्तिहरूको नेतृत्वमा सरकार गठनजस्ता प्रतिगामी मागका विरुद्ध सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्। यसले वर्तमान राजनीतिक परिस्थितिलाई थप जटिल बनाउन सक्ने देखिन्छ।

















