Logo

२६ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लोकतान्त्रिक मूल्य र मान्यतामा कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारेको छ। बिहीबार पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले तात्कालिक राजनीतिक परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यसहित तीन प्रस्ताव अघि सार्दै यस्तो बताएका हुन्।

रास्वपाले अघि सारेको प्रस्तावमा भनिएको छ, “संविधानको धारा ८३ अनुसार सङ्घीय व्यवस्थापिका दुई सदनात्मक हुने व्यवस्था स्मरणीय छ। (रास्वपाको सोचअनुसार भविष्यमा संशोधनयोग्य भए पनि) राष्ट्रिय सभाको स्थायी स्वरूप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र सम्पन्न गर्ने गरी ताजा जनादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता हो।”

गत सोमबार जेनजी आन्दोलनमाथि भएको बर्बर दमन, त्यसपश्चात् भएको मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको आक्रमणजस्ता अक्षम्य हिंसात्मक घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न रास्वपाले माग गरेको छ। साथै, २०४६ पछिका उल्लेखनीय भ्रष्टाचारका मुद्दामाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरूपण गर्न स्वतन्त्र आयोगहरूको गठन नयाँ सरकार बनेको १५ दिनभित्र गर्नुपर्ने आव्हान समेत गरेको छ।

त्यस्तै, सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेनजी पुस्ताको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारलाई रास्वपाले समर्थन रहने प्रष्ट पारेको छ।


सम्बन्धित समाचार
भर्खरै