२६ भदौ, काठमाडौं । मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट संवैधानिक निकास खोज्ने उद्देश्यसहित राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिनभर विभिन्न उच्चपदस्थ व्यक्ति र संविधानविद्हरूसँग छलफल गरेका छन्। बिहीबार दिउँसो सभामुख देवराज घिमिरे र राति ९ बजे राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग भेटवार्ता गरेपछि राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग समेत परामर्श गरेका थिए।
संसद् राखेरै निकासको खोजी
स्रोतका अनुसार, सभामुख घिमिरे र राष्ट्रपति पौडेलबीचको छलफलमा मुलुकको वर्तमान परिस्थितिको निकास संसद् विघटन नगरी संसद्लाई नै सक्रिय राखेर खोज्नुपर्ने विषयमा जोड दिइएको थियो। “संसद् विघटन गर्ने कि संसद् राखेर अघि बढ्ने भन्ने विषयमा विवाद उत्पन्न भएपछि त्यसबारे छलफल भएको हो,” स्रोतले भन्यो, “तर, उहाँहरू बीचको कुराकानीमा संसद् राखेरै संवैधानिक निकासको बाटोमा जानुपर्ने कुराकानी भएको छ।”
संविधानविद्हरूको सुझावस् आवश्यकताको सिद्धान्त वा जुनसुकै बाटोबाट सरकार गठन
बिहीबार बेलुकी राष्ट्रपति पौडेलले शीतलनिवासमा संविधानविद्हरू विपिन अधिकारी, पूर्णमान शाक्य, भिमार्जुन आचार्य, ललित बस्नेत, सूर्य ढुंगेल र चन्द्रकान्त ज्ञवालीसँग भेट गरेका थिए। राष्ट्रपति पौडेलले अहिले उत्पन्न परिस्थितिको निकास दिनका लागि परामर्श गर्न बोलाएको बताएका थिए।
“यसको संवैधानिक, राजनीतिक पाटो के हुन्छ भन्ने परामर्श गर्न बोलाएको हुँ,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। भेटमा संविधानविद्हरूले संविधानको पालक र संरक्षक राष्ट्रपतिले आवश्यकताको सिद्धान्त वा उपलब्ध जुनसुकै बाटो अपनाएर भए पनि चुनाव गराउने गरी नागरिक सरकार बनाउन पहल गर्नुपर्ने सुझाव दिएका थिए। संविधानविद् अधिकारीले २०४७ सालमा र २०६२र६३ सालमा जस्तै बाधा फुकाएर अहिलेको शून्य अवस्थाबाट निकास खोज्नुपर्ने बाटो लिनुपर्ने बताएका थिए।
“राष्ट्रपतिले सरकार गठनका लागि अग्रसरता लिन सक्ने हक संविधानले दिएको छ, त्यो हक नै प्रयोग गर्नुपर्छ,” उनीहरूको सुझाव थियो, “नागरिकको शासन, लोकतान्त्रिक मूल्य, मान्यता र संविधानवाद तीन कुरालाई उपेक्षा गर्नु हुँदैन। त्यो नै अबको बाटो हो।” करिब दुई घण्टा चलेको उक्त बैठक राति १० बजे सकिएको थियो।
प्रधानसेनापतिद्वारा छिटो सरकार गठनको आग्रह
सोही क्रममा प्रधानसेनापति अशोकराज सिग्देलले बाहिर विभिन्न अफवाहहरू फैलिने क्रम सुरु भएको भन्दै छिटो सरकार गठन गरिदिए सजिलो हुने बताएको स्रोतको भनाइ छ।
राष्ट्रिय सभा अध्यक्षसँग पनि छलफल
यस्तै, राष्ट्रपति पौडेलले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँगको भेटमा पनि वर्तमान राजनीतिक अवस्थाको निकासका बारेमा छलफल गरेका थिए। राष्ट्रपतिले संविधानलाई आधार बनाएर नयाँ सरकार गठनका लागि पहल भइरहेको जानकारी दाहाललाई गराएका थिए।
यसरी विभिन्न तहका व्यक्तिहरूसँगको छलफलबाट राष्ट्रपति पौडेल मुलुकको वर्तमान राजनीतिक संकटबाट संवैधानिक निकास खोज्ने प्रयासमा सक्रिय देखिएका छन्।















