Logo

२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको प्रस्तावलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सहमत भएका छन् । शीतलनिवासमा संविधानविद्हरुसँग लामो परामर्शपछि राष्ट्रपति कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्न सकारात्मक भएका हुन्।

तर, संसद् विघटन गर्ने–नगर्ने विषयमा भने अझै टुंगो लागेको छैन ।

राष्ट्रपति पौडेल र कार्कीबीच बिहीबार रातिसम्म संवैधानिक संकट र सम्भावित निकासबारे वार्ता भएको थियो । वार्तामा सहभागी एक अधिकारीका अनुसार कार्कीले गैरसांसदलाई प्रधानमन्त्री बनाउन संविधानले मार्ग नदिएको भन्दै संसद् विघटन अनिवार्य हुने धारणा राखेकी छन् ।

राष्ट्रपति पौडेल भने संसद् कायम राखेरै कार्कीलाई प्रधानमन्त्री बनाउने वैधानिक उपाय खोज्नतर्फ सक्रिय देखिएका छन् । यसै विषयमा बिहीबार रातिसम्म विभिन्न विकल्पमाथि छलफल भए पनि ठोस निष्कर्ष नआएपछि शुक्रबार बिहान नौ बजेपछि संविधानविद्हरुसँग पुनः बैठक बस्ने तय भएको छ ।

वार्तामा सहभागी एक अधिवक्ताले भने, “वार्तामा सकारात्मक प्रगति भएको छ तर अन्तिम टुंगो लाग्न बाँकी छ । बिहान ९ बजेपछि फेरि छलफलमा बस्ने तयारी छ।”

यसअघि आन्दोलनकारी जेन-जी प्रतिनिधिहरूले संसद् विघटनलाई आफ्नो “बटमलाइन” बनाउँदै आएका छन्। तर, राष्ट्रपति पौडेल संविधानिक संरक्षकको हैसियतमा संसद् विघटन नगरी निकास निकाल्ने प्रयासमा निरन्तर छन् ।


सम्बन्धित समाचार
भर्खरै