Logo

२७ भदौ, काठमाडौं । देशभर भएको आन्दोलन र प्रदर्शनका क्रममा भएका व्यापक जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ। महासंघले व्यवसायी तथा उद्योग प्रतिष्ठानहरूमा भएका तोडफोड र आगजनीका घटनाको भत्सर्ना गर्दै मुलुकभर निर्वाध रूपमा पेसा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण निर्माणका लागि सरकारसँग विशेष आग्रह गरेको छ।

आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोकाकूल परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। महासंघले सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोगजस्ता विषयमा युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील भई देशलाई समुन्नतितर्फ अगाडि बढाउनुपर्नेमा जोड दिएको छ।

अर्बौंको क्षति, अर्थतन्त्रमा गम्भीर असरको प्रारम्भिक आंकलन

महासंघका अनुसार, पछिल्लो घटनाक्रममा विभिन्न उद्यमी व्यवसायीका उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमा समेत तोडफोड र आगजनी भएका छन्। यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका आक्रमणका घटनाको महासंघले भत्सर्ना गरेको छ।

यसबाट मुलुकभर अर्बौं रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ, जसको कारण राजस्व र कुल ग्राहस्थ उत्पादन ९न्म्ए० मा गम्भीर असर पर्ने बताइएको छ।

महासंघले निजी क्षेत्रका गतिविधि निर्वाध रूपमा सञ्चालन हुन नसके अर्थतन्त्रमा थप समस्या आउने र राजस्वमा समेत नकारात्मक प्रभाव पर्ने भन्दै सर्वसाधारण तथा उद्यमी व्यवसायीलाई पेशा व्यवसाय गर्न पाउने सुनिश्चितता प्रदान गर्न सुरक्षा व्यवस्था कडा पार्न आग्रह गरेको छ।

निषेधाज्ञा र अत्यावश्यक सेवामा सहजीकरणको माग

महासंघले निषेधाज्ञा र कर्फ्युका समयमा पनि अत्यावश्यक सेवा तथा पेसाकर्मीहरूको आवतजावतमा सहजीकरण गर्न, आवश्यक वस्तु, औषधि, खाद्यान्न, दुध, पानी, फलफूल, तरकारी र पेट्रोलियम पदार्थको ओसारपसारमा सहजीकरण गर्न पनि आग्रह गरेको छ।

साथै, केन्द्र, प्रदेश र जिल्लास्तरमा रहने सुरक्षा समितिमा महासंघ र सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिताको माग गरेको छ।

यसैगरी, गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिन देशैभरका उद्यमी व्यवसायीहरूलाई आग्रह गरिएको छ। आपूर्ति सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर तथा वस्तुगत संघहरूलाई अनुगमन गर्न पनि भनिएको छ।

भन्सार नाका सुचारु गर्न आग्रह

अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए पनि धेरै भन्सार नाका बन्द रहेको सन्दर्भमा, अत्यावश्यकलगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिएर सुचारु गर्ने वातावरण निर्माण गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

निजी क्षेत्रको योगदान र समृद्धिको आधार

नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याउने निजी क्षेत्रका विषयहरूलाई समेटिएमा मात्र अर्थतन्त्र चलायमान भई मुलुकमा समृद्धि र स्थायित्व कायम हुने महासंघको विश्वास छ।

सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको महासंघको ठहर छ।

स्थायित्वका लागि युवाहरूको चाहना अनुरूप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता सँगै लगानी र रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्‍याउन महासंघले आग्रह गरेको छ।


सम्बन्धित समाचार