Logo

२७ भदौ,वीरगञ्ज ।जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिका कारण वीरगन्ज भन्सार कार्यालयमा करिब एक हजार मालवाहक सवारीसाधन अलपत्र परेका छन्। भन्सारमा कर्मचारीको अनुपस्थिति र सुरक्षाको अभावले भारतबाट नेपाल प्रवेश गरेका यी गाडीहरू एकीकृत जाँच चौकी (आइसीपी) र ड्राइपोर्टको पार्किङमा थन्किएका हुन्।

चालकहरूको भनाइअनुसार, पछिल्लो पाँच-छ दिनदेखि गाडीहरू रोकिएका छन्। भारतको मध्य प्रदेशबाट धनियाँ बोकेर आएका फिरोज खानले ६ दिनदेखि आफ्नो गाडी भन्सारमै थन्किएको र कर्मचारी नहुँदा जाँच पास गराउन नसकिएको बताए। उनले लामो समयसम्म गाडी रोकिएपछि सामान बिग्रिने र खानेबस्ने समस्या भएको गुनासो गरे।

उत्तर प्रदेशका अर्का चालक अनुज कुमारको समस्या पनि उस्तै छ। कुखुराको दाना बोकेर आएका उनको गाडीको भन्सार प्रक्रिया पूरा भए पनि सुरक्षा अभावले हेटौंडासम्म जान नसकेको उनले बताए।

त्यस्तै, राजस्थानबाट काठमाडौँका लागि काठको सामान बोकेर आएका वि बैनाले पनि पाँच दिनदेखि रोकिएको जानकारी दिए। उनका अनुसार, राजस्थानका मात्रै ३५ वटा गाडी पार्किङमा रहेका छन्।

यस विषयमा वीरगन्ज भन्सार कार्यालयका प्रमुख विष्णु प्रसाद ज्ञवालीले भने मालवाहक सवारीसाधनलाई गन्तव्यमा पठाउने काम भइरहेको दाबी गरेका छन्। उनले भने, “वीरगन्ज भन्सारमा आएका गाडीहरू हामीले पठाइरहेका छौँ। हिजो पनि औषधि, ग्यास, खाद्यान्न बोकेका गाडीहरू पठाइयो। आज साँझ पनि पठाउने तयारी गरिएको छ।”

यस घटनाले देशको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पारेको छ भने भन्सार र सुरक्षा निकायको समन्वयमाथि पनि प्रश्न उठेको छ।


सम्बन्धित समाचार