Logo

२८ भदौ,काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा सहभागी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठबारे सामाजिक सञ्जालमा अनेक अड्कलबाजी र अफवाह फैलिएको छ। उनी मन्त्री बन्ने तयारीमा रहेको जस्ता टिप्पणीहरू व्यापक रूपमा सार्वजनिक भइरहेका छन्।

तर, सुमनाले ती सबै अड्कलबाजीको खण्डन गर्दै आफू मन्त्रिपरिषद्मा जान नलागेको स्पष्ट पारेकी छन्। शनिबार फेसबुक लाइभमार्फत सार्वजनिक धारणा राख्दै उनले भनिन्, “भ्रममा कोही पनि नपरिदिनुहोला, म क्याबिनेटमा जान लागेको छैन।”

उनले हालैको जेन्जी आन्दोलनको पृष्ठभूमिमा युवाको नेतृत्वमा बनेको सरकारलाई पूर्ण समर्थन र सहयोग गर्नुपर्नेमा जोड दिइन्। सुमनाले आफूजस्ता पहिल्यै अवसर पाएका व्यक्तिहरू ‘ब्याक सिट’मा बसेर परिवर्तनलाई सुदृढ बनाउनेतर्फ लाग्नुपर्ने बताइन्।

“हाम्रा यति कलिला भाइबहिनीहरूको दाहसंस्कार सकिएको छैन,” उनले भनिन्, “उहाँहरूको बलिदानबाट आएको यो परिवर्तनमा मजस्तो अवसर पाएर काम गरिरहेको मान्छेहरूले मन्त्री बन्ने सपना नराखौँ भन्ने चाहन्छु।”

श्रेष्ठले आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्न सबै पक्षले सहयोग गर्नुपर्नेमा पनि आग्रह गरिन्। उनी युवाहरूको आवाजलाई केन्द्रमा राखेर काम गर्ने इच्छाशक्ति बोकेको नेतृका रूपमा चिनिन्छिन्।


सम्बन्धित समाचार