Logo

२९ भदौ, काठमाडौं । बडादशैं नजिकिँदै जाँदा नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि सुकिला नोट वितरण सुरु गरेको छ। राष्ट्र बैंकका अनुसार सुकिला नोट सटही आजबाट सुरु भई असोज १० गतेसम्म जारी रहनेछ।

राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जेन–जी आन्दोलनका कारण उत्पन्न परिस्थितिले केही असहजता भए पनि बैंक तथा वित्तीय संस्थाहरूमा ठूला भौतिक क्षति नभएकाले यसअघि तय भएको तालिका अनुसार नै नोट सटही प्रक्रिया सञ्चालन गरिएको जानकारी दिए।

नोट सटहीका लागि नेपाल राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रदेश कार्यालयहरूमा सुकिला नोट साट्न सकिने व्यवस्था मिलाइएको छ।

त्यस्तै, देशभरिका बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट पनि नागरिकहरूले सुकिला नोट साट्न सक्नेछन्। राष्ट्र बैंकले यसपालि विशेष रूपमा पाँच रुपैयाँ दरको नयाँ नोट पनि वितरण गर्ने जनाएको छ।

नागरिकले आफ्नो खाता भएको बैंक वा नजिकको वित्तीय संस्थामा गई सुकिला नोट साट्न सक्ने छन्। राष्ट्र बैंकले अघिल्लो वर्षदेखि दशैंका लागि नयाँ नोट वितरण नगरी सुकिला (कम प्रयोग भएका) नोट वितरण गर्ने नीति अवलम्बन गर्दै आएको हो।

यस वर्षको दशैंको टीका असोज १६ गते बिहीवारका दिन परेको छ। सुकिला नोट सटहीको यो व्यवस्था विशेषगरी दशैंमा आशिर्वाद स्वरूप दिइने “दक्षिणा” का लागि नागरिकहरूलाई सजिलो होस् भन्ने उद्देश्यले गरिएको हो।


सम्बन्धित समाचार