२९ भदौ, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै आज सामाजिक सञ्जालमार्फत रास्वपा छाडेको घोषणा गरेकी हुन्।
पार्टी छाडेको जानकारी दिँदै श्रेष्ठले लेखेकी छन्, “अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडे।”
श्रेष्ठले पार्टी केन्द्रीय समितिमा पठाएको जानकारीपत्रमा रास्वपा नेतृत्वले गल्तीहरूमाथि गल्ती गर्दै आएको तर कहिल्यै पनि ती स्वीकार नगरेको आरोप लगाएकी छन्। उनले यस्ता व्यवहार आफूलाई अस्वीकार्य भएको स्पष्ट पार्दै पार्टी परित्याग गरेको उल्लेख गरेकी हुन्।
उनको भनाइमा, “गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ सबै सदस्यले बोक्नुपर्ने ? आलोचना गर्नेलाई मिडियामार्फत ट्रायल गर्ने ?”
श्रेष्ठले पार्टीभित्र आलोचनात्मक आवाजलाई दबाउने, असहमतिहरूको दमन गर्ने र नेतालाई सबैभन्दा माथि राख्ने प्रवृत्तिप्रति तीव्र आपत्ति जनाएकी छन्। उनले भनेकी छन्, “जहिलेदेखि पार्टीले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यही दिनदेखि नै म आलोचना गर्दै आएकी हुँ।”
सुमना श्रेष्ठ रास्वपाको संस्थापक पुस्तामध्येकी नेतृ हुन् र २०७९ को निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक सूचीमा प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। उनी शिक्षामन्त्रीको रूपमा छोटो अवधिका लागि कार्यरत रहेकी थिइन्।
रास्वपाबाट उनको बाहिरिने निर्णयले पार्टीभित्रको आन्तरिक कलह फेरि सतहमा आएको छ। हालसम्म रास्वपा नेतृत्वले औपचारिक प्रतिक्रिया भने दिएको छैन।















