Logo

२९ भदौ,वीरगञ्ज । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीद्वारा आज जारी सूचनाअनुसार, केही स्थानहरूलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, तोकिएका क्षेत्रमा आजै बिहान ११ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ, जसअनुसार पाँच जनाभन्दा बढी मानिसहरू भेला हुन, जुलुस निकाल्न, प्रदर्शन वा सभा गर्न अनुमति छैन।त्यस्तै, अर्को आदेश नभएसम्मका लागि हरेक रात ९ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू लगाउने निर्णय गरिएको छ।

पूर्वतिर बाईपास रोडसम्म, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक, दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यु लागु हुनेछ ।कफ्र्यूको समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवाका सवारी साधनलाई भने आवतजावतमा छुट दिइने प्रशासनले जनाएको छ।

यसैगरी, शान्ति सुव्यवस्था कायम गर्न जिल्ला सुरक्षा समितिले ‘स्थानीय प्रशासन ऐन, २०२८’ बमोजिम देहायका दुई स्थानलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ । घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय, पर्सा र त्यसको कम्पाउन्डभित्रको क्षेत्रमा प्रशासनले यी आदेशहरूको उल्लङ्घन गर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गरिने समेत चेतावनी दिएको छ।

 


सम्बन्धित समाचार
भर्खरै