Logo

२९ भदौ, काठमाडौं ।  गत साता नेपालमा जेन–जी पुस्ताले गरेको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ ।

सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सुरु भएको यो विरोध प्रदर्शनले हिंसात्मक रूप लिँदा ठूलो जनधनको क्षति भएको छ । यस घटनाले नेपालको राजनीतिक अस्थिरता, नेतृत्वको मूल्याङ्कन, र यसको क्षेत्रीय प्रभावबारे गम्भीर प्रश्नहरू खडा गरेको छ ।

सामाजिक सञ्जाल प्रतिबन्ध एउटा ट्रिगर मात्र

बाहिरबाट हेर्दा जेन–जीको विरोधले अचानक सत्ता पतन गराएजस्तो लागे पनि यसको पछाडिको मुख्य कारण युवाहरूमा लामो समयदेखि थुप्रिएको भ्रष्टाचारविरोधी आक्रोश थियो । सामाजिक सञ्जालमा राजनीतिक भ्रष्टाचार र ‘नेपो किड्स’को विलासी जीवनशैलीविरुद्ध पहिलेदेखि नै आक्रोश व्यक्त भइरहेको थियो । सामाजिक सञ्जाल प्रतिबन्धले यही आक्रोशलाई सडकमा विस्फोट गराउन ट्रिगरको काम गरेको हो ।

नेताविहीन आन्दोलनको अन्योल

कतिपयले आन्दोलनको मुख्य समस्या यसको नेताविहीन स्वरूप रहेको बताएका छन् । नेता नहुँदा जेन्जीको आन्दोलन छरपस्ट आयो र मागहरू पनि एउटै आवाजका रूपमा आएन । भ्रष्टाचार र बेरोजगारी मुख्य माग भए पनि कुनै नेता नभएकाले नयाँ सरकारले कसरी काम गर्छ भन्नेमा अहिले युवाहरू नै अलमलमा छन् ।

राजनीतिक नेतृत्वको असफलता र ‘शून्यमा’ पुगेको अवस्था

यो आन्दोलन कुनै संगठित विरोध नभएकोले राजनीतिक नेतृत्वले यसको सही मूल्याङ्कन गर्न सकेन । प्रधानमन्त्री ओलीले राजीनामा दिन बाध्य हुनुको मुख्य कारण यही भएको कतिपयको विश्लेषण छ । जेन–जी पुस्ता ‘डिस्कर्ड’ र ‘इन्स्टाग्राम’ जस्ता फरक सामाजिक सञ्जाल प्लेटफर्ममा सक्रिय भएकाले पुरानो राजनीतिक नेतृत्वले उनीहरूको आक्रोशलाई बुझ्न सकेन । यो घटनाले देशलाई शून्यमा ल्याएको र यसले नयाँ सरकारका लागि ठूलो चुनौती खडा गरेको छ ।

छिमेकी र अन्तर्राष्ट्रिय प्रभाव

पूर्वभारतीय कूटनीतिज्ञ मीरा शंकरका अनुसार, नेपालमा भएको यो अस्थिरता भारत, चीन र अमेरिका तीनै देशका लागि चिन्ताको विषय हो । नेपालमा अस्थिरता र हिंसा कसैको हितमा नरहेको उनको भनाइ छ । चीनसँग नजिक मानिने केपी ओलीको राजीनामा चीनका लागि ठूलो घटना हो । उनले हिंसाबाट परिवर्तन ल्याउने प्रयास सबैका लागि चिन्ताको विषय रहेको बताएकी छन् ।

अहिले अन्तरिम सरकार गठन भएको र आगामी ६–७ महिनामा चुनाव हुने अपेक्षा गरिएको छ । शंकरका अनुसार, नेपालका जनताले लोकतान्त्रिक र संवैधानिक दायराभित्र रहेर गरेको कुनै पनि सम्झौतालाई भारतले समर्थन गर्नेछ ।

सेनाको भूमिका र भविष्यको बाटो

आन्दोलनपछि सेनाले परिस्थिति नियन्त्रणमा लिँदै शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेलेको छ । जेन–जीले समेत सेनाको सहजीकरणको प्रशंसा गरेका छन् । यसले नेपालको राजनीतिमा सेनाको भूमिकाबारे नयाँ बहस सुरु भएको छ ।


सम्बन्धित समाचार
भर्खरै