२९ भदौ,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीद्वारा आइतबार साँझ नियुक्त भएकी सविता भण्डारी नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता बनेकी छन्। जेन–जी आन्दोलनको चापमा गठन भएको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले पूर्व महान्यायाधिवक्ता रमेश बडालको राजीनापछि भण्डारीलाई नियुक्त गरेकी हुन्।
नियुक्तिपछि सेतोपाटीसँगको संक्षिप्त कुराकानीमा भण्डारीले आफ्नो प्रतिबद्धता स्पष्ट पारिन्। उनले भनिन्,
“म जतिसक्छु राम्रो काम गर्छु, नराम्रो काम गर्दिनँ। म कुनै पनि किसिमको फट्याइँ काम गर्दिनँ। सबैबाट सहयोग पाउने आशा गरेको छु।”
९९ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी सविता कानुनी वृत्तमा लामो अनुभव बोकेकी वरिष्ठ अधिवक्ता हुन्। उनको नियुक्तिलाई नेपालको कानुनी इतिहासमा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यसैबीच, प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी पनि तीव्र पारेकी छन्। आइतबार बिहानदेखि नै उनी पाँचजना नयाँ मन्त्री छनोटका लागि विभिन्न व्यक्तिहरूसँग छलफलमा जुटेकी छन्। आजै मन्त्री नियुक्ति हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
सविता भण्डारीको नियुक्ति, जेन-जी आन्दोलनको प्रभाव, र अन्तरिम सरकारको सक्रियता सँगसँगै अब सरकारको प्राथमिकता कानुनी सुधार, संक्रमणकालीन न्याय र राजनीतिक स्थायित्वतर्फ मोडिने अपेक्षा गरिएको छ।















