३० भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी कार्यालयको निरीक्षण गर्दै आफ्ना कमजोरी सच्याएर अघि बढ्ने बताएका छन् ।
सोमबार ललितपुरस्थित च्यासलमा रहेको पार्टी कार्यालय पुगेर उनले आन्दोलनले निम्त्याएको क्षतिप्रति दुःख व्यक्त गरे। उनले आन्दोलनका क्रममा पार्टीका निजी भवन र शताब्दी पुराना सम्पदाहरू समेत ध्वस्त भएको बताए। ‘सिंहदरबार, शीतलनिवास लगायतका संरचना पनि जलाउने काम भयो,’ उनले भने, सुरक्षामा खटिने नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाहेक सबै संरचनाहरू जलाइएको छ।’
पोखरेलले युवाको आन्दोलनलाई लुटपाटको योजनामा बदल्ने र राष्ट्रलाई कमजोर बनाउने तत्वहरूलाई युवा आफैँले चिन्नुपर्नेमा जोड दिए। उनले सरकारलाई त्यस्ता तत्वहरूलाई दण्डित गर्न र क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणको काम अघि बढाउन आग्रह गरे।
तोकिएकै समयमा निर्वाचन गर्न आग्रह
एमाले महासचिवले सुशासन, भ्रष्टाचारमुक्त नेपाल र विकासको लक्ष्यमा वर्तमान सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताए। यद्यपि, उनले अहिलेको अन्तरिम सरकारले तोकिएकै समयमा निर्वाचन गराउने कुरामा ध्यान दिनुपर्ने बताएका छन् ।
सधैँभरि सडकबाट जनमत प्राप्त गर्ने कुरा हुँदैन, पोखरेलले भने, ‘युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिल्यै पनि विकास र समृद्धिको यात्रामा जान सक्दैन।’
उनले एमाले अहिले उठेका प्रश्नहरूको जवाफ दिन सक्षम रहेको र युवाको भावनालाई सम्बोधन गर्न सक्ने दाबी पनि गरे। उनले भने, हामीले युवाहरूको आकाङ्क्षालाई समयमै सम्बोधन गर्न सकेनौँ होला, परिस्थिति समयमै आकलन गर्न सकेनौँ होला, त्यसमा हाम्रा केही कमजोरी होलान् तर त्यसको नाममा देशभक्तिमाथि प्रश्न गर्ने कुरा उचित होइन।’
अन्तमा, उनले एमाले फेरि उठ्ने भन्दै कार्यकर्ताहरूलाई एकजुट भएर क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा लाग्न निर्देशन दिए।

















