३१ भदौ,वीरगञ्ज । पर्साको सेढवा इलाका प्रहरी कार्यालयले भारतीय कुखुरा बरामद गरेसँगै पक्राउ परेको मोटरसाइकल रकमको चलखेलमार्फत व्यापारीलाई नै बुझाएको आरोप लागेको छ।
गत भदौ २९ गते आइतबार इलाका प्रहरी कार्यालय सेढवाका बरिष्ठ प्रहरी नायब निरीक्षक (प्रनानि) अर्जुनकुमार साहको नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका-१ महादेवपट्टि नजिकबाट दुई वटा मोटरसाइकलसहित करिब २०० किलो बराबरको ६० पिस भारतीय कुखुरा बरामद गरेको थियो।
बरामद कुखुरा स्थानीय जनप्रतिनिधि, पर्सा कुखुरा व्यवसायी संघका पदाधिकारी र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको थियो। तर, नम्बर प्लेट BR 05 AW 7327 भएको टिभिएस मोटरसाइकल र अर्को नम्बर नभएको पल्सर मोटरसाइकल भने आवश्यक कानूनी प्रक्रिया पूरा नगरी व्यापारीलाई नै बुझाइएको कुखुरा व्यवसायी संघका सचिव गम्भिरा गुप्ताले आरोप लगाएका छन्।
गुप्ताका अनुसार, प्रनानि साहले मोटरसाइकल भन्सार कार्यालय वीरगञ्ज पठाइने भन्दै मुचुल्का समेत तयार गरी व्यवसायी संघलाई साक्षी राखेका थिए। तर, पछि १५ हजार रुपैयाँको लेनदेनमार्फत मोटरसाइकल व्यापारीलाई नै बुझाइएको भन्दै उनले आपत्ति जनाएका छन्।
यस विषयमा बुझ्दा प्रनानि साहले आफू ‘माथिको आदेश’ अनुसार मात्र अघि बढेको प्रतिक्रिया दिएका छन्। तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्राले भने यसबारे आफूलाई जानकारी नभएको बताउँदै तत्कालै छानबिन गरेर दोषीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।















