३१ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेतृत्वमाथि गम्भीर संकट आएको छ।
भर्खरैको जेन(जी विद्रोहले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको बागडोरबाट मात्रै नभई, पार्टीको नेतृत्वबाट पनि बाहिरिने दबाब बढाएको छ। ओली अहिले पनि सुरक्षा घेरामा छन् र उनको पार्टीसँगको प्रत्यक्ष संवाद टुटेको छ। यसले गर्दा कार्यकर्ताको मनोबल खस्किएको छ भने पार्टी कार्यालय र नेताका घरहरूमा भएको आगजनीले एमालेजनहरूमा अभिभावकविहीनताको महसुस भएको छ।
पार्टीभित्रैबाट आवाज
ओलीको परम्परागत समर्थनमा रहेका नेताहरूले पनि अब उनीबाट पार्टी चल्न नसक्ने धारणा सार्वजनिक गर्न थालेका छन् । उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौ २४ गते नै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरे। उपाध्यक्ष युवराज ज्ञवालीले पनि पार्टीमा भएको क्षति र जनताको आक्रोशको जिम्मा ओलीले लिनुपर्ने बताए । सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले पार्टी पुनर्गठनको आवश्यकतामा जोड दिएका छन्। बाँस्कोटाले त ुसमय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ। सबै तयार हुनै पर्छु भन्दै नेतृत्व परिवर्तनको संकेत दिएका छन्।
चुनावको अनिश्चितता
पार्टीका नेताहरूका अनुसार, ओलीकै नेतृत्वमा आगामी चुनावमा जानु जोखिमपूर्ण हुनेछ। विद्रोहको मुख्य कारण नै ओली भएको जनधारणा रहेकाले उनी अघि सर्दा पार्टीले चुनावमा राम्रो नतिजा ल्याउन नसक्ने उनीहरूको विश्लेषण छ। यसले एमालेको भविष्यका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षलाई थप बल पुर्याउँछ।
ओलीको राजनीतिक यात्रामा यो तेस्रो पटकको सुखद बहिर्गमन नभएको भए पनि, यस पटकको जेन(जी विद्रोहले उनलाई पार्टीको सर्वोच्च पदबाट नै हटाउने अवस्था सिर्जना गरेको छ।















