Logo

३१ भदौ, काठमाडौं । हालैको जेन–जी विद्रोह का कारण उत्पन्न सुरक्षा चुनौतीले नेपालका शीर्ष राजनीतिक नेताहरूलाई अझै पनि प्रभावित गरिरहेको छ।

आन्दोलन शान्त भए पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि नेपाली सेनाको सुरक्षा घेराबाट बाहिर निस्किएका छैनन् । भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा देशभर सरकारी कार्यालय, पार्टी कार्यालय र नेताका निजी निवासहरूमा आगजनी र तोडफोड भएको थियो। यसै क्रममा नेपाली सेनाले उच्च सुरक्षा खतरा देखेर धेरै नेताहरूलाई सुरक्षित स्थानमा सारेको थियो । केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टरमार्फत सुरक्षित ब्यारेकमा लगिएको थियो ।

शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणालाई बुढानीलकण्ठस्थित निवासमा आक्रमण भएपछि सेनाले उद्धार गरी अस्पताल लगेको थियो । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिंहदरबारस्थित कार्यालयबाट उद्धार गरिएको थियो ।

झलनाथ खनाललाई पनि उनको निवासमा आगजनी भएपछि सुरक्षित स्थानमा सारिएको थियो, जहाँ उनकी श्रीमती रबिलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी थिइन् । प्रचण्ड, नेपाल र खनाल लगायत अन्य पूर्वप्रधानमन्त्री र निवर्तमान मन्त्रीहरू भने आइतबार र सोमबारसम्ममा आफ्नो निवास फर्किसकेका छन् । तर, सुरक्षा चुनौतीका कारण ओली र देउवा अझै सैनिक सुरक्षामा नै छन् । जेन–जी आन्दोलनले नेपाली राजनीतिको शीर्ष तहका नेताहरूका लागि पनि सुरक्षाको चिन्ता बढाएको छ।


सम्बन्धित समाचार