काठमाडौं, भदौ ३१ । हालैको राजनीतिक घटनाक्रमपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल बीच भेटवार्ता भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको यस भेटमा उनीहरूबीच देशको वर्तमान अवस्था, राजनीतिक संकट र संघीय संसदमा भएको क्षतिका विषयमा छलफल भएको छ । अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको उनको सचिवालयले जनाएको छ। उनले आन्दोलनका क्रममा बानेश्वरस्थित संघीय संसद भवन र सिंहदरबारस्थित संसद सचिवालयमा भएको क्षतिको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
भेटमा प्रधानमन्त्री कार्कीले अहिलेको राष्ट्रिय संकटलाई सही निकास दिन र देशलाई शान्ति तथा स्थिरतातर्फ लैजान सबै राजनीतिक दल र संस्थाहरूको सहकार्य आवश्यक रहेकोमा जोड दिइन्। यस क्रममा उनले राष्ट्रिय सभाको भूमिका महत्त्वपूर्ण हुने बताएकी थिइन् ।















